नवलपरासी (वर्दघाट सुस्ता पूर्व) । जिल्लाको गैंडाकोटमा मुख्य कार्यालय रहेको किसान साकोसले मध्यविन्दु नगरपालिका वडा नं.१० का ९६ प्रतिशत भन्दा बढी घरधुरी समेटेकोमा पूर्ण किसान सदस्य वडा घोषणा कार्यक्रम गरेको छ । कार्यक्षेत्र विस्तार भन्दा स्वीकृत कार्यक्षेत्र भित्र सेवाको सघनता बढाउने उद्देश्य सहित किसान साकोसले पूर्ण सदस्य वडा घोषणाको अभ्यास प्रारम्भ गरेको हो ।
६७औं राष्ट्रिय सहकारी दिवसको अवसरमा २०८० चैत्र २० गते नेपालमै पहिलो पटक 'पूर्ण सदस्य वडा घोषणा' को अभियान सुरु गरेको किसान साकोसले आज दोस्रो वडालाई समेत पूर्ण सदस्य वडा घोषणा गरेको हो । आज एक समारोहका बीच मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भीमलाल अधिकारीले सो नगरपालिकाको वडा नं.१० लाई पूर्ण किसान सदस्य वडा घोषणा गर्नुभएको हो ।
पूर्ण किसान सदस्य वडा घोषणा समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि अधिकारीले “सहकारी संस्थाहरु बचत संकलन र ऋण लगानीमा मात्र अल्झिने नभई जीवन जीउने तरिका बदल्न समेत सिकाउनु पर्दछ” भन्नुभयो । समग्र मुलुकको एक तिहाई भन्दा बढी जनसंख्या आबद्ध रहेको सहकारी क्षेत्रले समाजमा रहेका विभिन्न खाले अराजकताहरुलाई चिर्दै सभ्य समाज निर्माणमा योगदान दिनु पर्नेमा जोड दिनुभयो । “उत्पादन वृद्धिमा जोड दिनु पर्यो । स्थानीय रोजगारी सिर्जना, अर्गानिक र पोषणयुक्त आहारको लागि आफ्नो खेत बारी मात्र प्रयोग गर्ने हो भने पनि स्वस्थ जीवन बिताउन सकिन्छ” अधिकारीले भन्नुभयो ।
अहिले समाजमा सहकारीबाट ऋण लिएर तिर्नुपर्दैन भन्दै गलत सन्देश प्रवाह गर्नेहरुको समेत बिगबिगि रहेकोले त्यस्ता गलत तत्वहरु पहिचान गरी उनीहरुलाई समाजबाट अलग गर्नुपर्नेमा जोड दिँदै प्रमुख अतिथि अधिकारीले “ऋण तिर्नु पर्दैन, तिरेमा खबरदार भन्दै हिँड्ने देशद्रोहीहरुको पछाडि लाग्दा कतिपय सहकारीका ऋणीहरुले तिर्न सक्ने ऋण समेत नतिरी तिर्नै नसक्ने अवस्था तर्फ धकेलिएका छन् । एक संस्थाबाट लिएको ऋण नतिर्नेले भविष्यमा अन्य आवश्यकतामा ऋण लिनु पर्दा कसले पत्याउने ? त्यसबेला ती भ्रम छर्नेहरुले जिम्मा लिन्छन् त ?” भनि प्रश्न गर्नुभयो ।
नगरपालिका भित्र समग्र सहकारीको वृद्धि र विकासका लागि नगरपालिका सकारात्मक रहेको भन्दै आफू सहकारी क्षेत्रको विज्ञ नभएकोले सहकारीका विज्ञहरुबाट निरन्तर सुझाव दिनुपर्ने बताउनुभयो । “सहकार्यका क्षेत्र पहिचान गरौं । विकास र समृद्धिको लागि हातेमालो गरौं” भन्दै अधिकारीले सहकारीको ऋण असुलीमा धितो लिलाम गर्नुपर्ने अवस्थामा जनप्रतिनिधिहरुलाई सिफारिस नदिन धम्क्याउने सम्मको अवस्था रहेको भन्दै त्यसले सही बाटो नलिने हुँदा सदस्यले संस्थामा राखेको बचत सुरक्षित गर्नुपर्नेमा आफू सकारात्मक रहेको बताउनुभयो ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै वडा नं. १० का वडाध्यक्ष रणबहादुर थापाले वडा नं.१० का कुल १५५६ घरधुरी मध्ये १४९६ घरधुरीबाट संस्थामा सदस्य आबद्ध भएको वडाध्यक्ष रणबहादुर थापाले घोषणा गर्नुभएको थियो । उक्त तथ्याङ्क वैशाख मसान्तको भएको र अहिले पनि सदस्य आबद्धता बढिरहेको संस्थाले जनाएको छ । संस्थाले उत्पादनमुलक क्षेत्रमा सहुलियतपूर्ण ऋण सुबिधा प्रदान गरेकोमा संस्थाको प्रशंसा गर्दै वडाध्यक्ष थापाले स्थानीय उत्पादनको प्रवद्र्धनमा सहकार्य गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
संस्थाका अध्यक्ष भोजराज पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा अरुणखोला सेवा केन्द्र व्यवस्थापन समितिका संयोजक विन्दुकुमार श्रेष्ठले स्वागत मन्तव्य राख्दै संस्थाले सदस्य केन्द्रित कार्यक्रमहरुलाई प्राथमिकतामा राखेकोले सदस्यहरुको आकर्षण र विश्वास बढ्दै गएको बताउनुभयो ।
नेफ्स्कूनका सञ्चालक गोपाल प्रसाद गौतम, जिल्ला सहकारी संघका अध्यक्ष तिलक पराजुली, मध्यविन्दु उद्योग वाणिज्य संघका अध्यक्ष किरण कुमार श्रेष्ठ लगायत स्थानीय संघ संस्थाका अध्यक्ष एवम् जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा संस्थाको विकासक्रम र वर्तमान अवस्थाका साथै संस्थाका सेवाहरुको बारेमा जानकारी गराउँदै संस्थाका प्रमुख कार्यकारी अधिकृत सन्जयराज तिमिल्सीनाले नगरपालिकाले स्थानीय उत्पादन र उद्यमहरुमा प्राथमिकता तोकेमा संस्थाले समेत सोही प्राथमिकतामा उत्पादनमुलक क्षेत्रको प्रवद्र्धन गर्ने बताउनु भयो । “वास्तविक उद्यम र रोजगारी सिर्जनामा लाग्ने सदस्यहरुलाई प्रोत्साहन गर्न संस्थाले सहुलियतपूर्ण ब्याजदरमा ऋण सेवा सञ्चालन गरिरहेको छ ।
पालिकाले समेत त्यसमा सहकार्य गरी ब्याज अनुदानको व्यवस्था गरेमा यसलाई थप व्यापक बनाउन सकिन्छ” भन्दै तिमिल्सीनाले स्थानीय स्रोतमा आधारित उद्यम र उत्पादनहरुको बजारीकरणमा सहकार्य गर्न सकेमा मात्र उद्यमीहरुलाई न्याय हुने र टिकाइराख्न सकिने बताउनुभयो । त्यसैगरी नेपाल रेडक्रस सोसाइटी मध्यविन्दुका सभापति राधा ढकाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । संस्थाका सचिव सरस्वती कण्डेलले सञ्चालन गर्नुभएको कार्यक्रममा संस्था सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार, उपसमिति र कर्मचारीहरु सहित वडा नं. १० का सयौंको उपस्थिति रहेको थियो ।
संस्थाले घोषणा कार्यक्रम सँगै संस्थाले वि.पि.कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनको प्राविधिक सहयोगमा महिलाहरुको पाठेघरको मुखको क्यान्सर (भीआईए), स्तर क्यान्सर र मुख तथा घाँटीको क्यान्सर सम्बन्धी निःशुल्क परीक्षण शिविर सञ्चालन गरेको छ । मध्यविन्दु उद्योग वाणिज्य संघको कार्यालयमा सञ्चालित उक्त शिविरमा १२० जना महिलाको पाठेघरको मुखको क्यान्सर, १२५ जना महिलाको स्तन क्यान्सर र ३८ जना महिलाहरुको मुख तथा घाँटीको क्यान्सर परीक्षण गरिएको थियो ।
परीक्षणमा सहभागीहरुलाई विभिन्न औषधीहरु समेत उपलब्ध गराइएको संस्थाका प्रमुख कार्यकारी अधिकृत सन्जय राज तिमिल्सीनाले जानकारी दिनुभयो । कार्यक्रममा १० नं. वडा, उक्त वडामा रहेका टोल विकास संस्थाहरु, सामुदायिक संस्था, प्रहरी कार्यालय लगायत संघ संस्था र सार्वजनिक स्थलमा उत्पन्न हुने फोहर व्यवस्थापनको लागि ५० वटा डस्टविन समेत वितरण गरिएको थियो ।

Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com