काठमाडौं । धिप्री डटकमले आज काठमाडौंको बौद्धमा मुख्य कार्यालय रहेको अजम्बरी बचत तथा ऋण सहकारी संस्था लि. बारे विस्तृत जानकारी लिने सुखद संयोग प्राप्त गर्यो । पूर्वनिर्धारित थिएन आजको भेट । तर, भनिन्छ नि ‘केही अप्रत्याशित भेटहरु (अनएक्स्पेक्टेड मिटिङहरु) अविष्मरणीय हुन्छन् ।’ त्यस्तै विशेष बन्यो आज अजम्बरी साकोसँगको ‘अनएक्स्पेक्टेड मिटिङ’ ।
विशेष यस कारण कि, आज संयोगले प्रमुख कार्यकारी अधिकृत (सिईओ) गान्वा सुनुवार कार्यालयमै भेटिनुभयो । संयोगले उहाँ धिप्री डटकमसँग स्टोरी सेयर गर्ने मुडमा पनि हुनुहुन्थ्यो । र, अर्को संयोग भनेको अजम्बरी साकोसको सबैभन्दा पुरानो कर्मचारी एवम् हाल विभागीय प्रमुख सरस्वती तामाङ पनि त्यही भेटिनुभयो । अनि, अन्य कर्मचारीहरु पनि । र, यी सबै संयोगहरुको गठजोडले ‘स्टोरी’ पनि बनिहाल्यो ।
करिब डेढ दशक अघि स्थापना भएको अजम्बरी साकोसले सुरुवाती चरणमा निक्कै ‘स्ट्रगल’ गर्यो । सहकारी सञ्चालनको विज्ञान र कला दुबैको अभाव सञ्चालक समिति र व्यवस्थापनसँग थियो । तर, दुबैको नियत खराब थिएन । नियत सफा हुँदाहुँदै पनि प्राविधिक विषयहरु, सिद्धान्त, विधि र पद्धतिसँग एकाकार नहुँदा समस्या आउँछनै । भयो त्यही । समस्याहरुसँग पौठेजोरी खेल्दै सिक्दै बुझ्दै सम्हालिदै अब एउटा आकार लिएर त्यसलाई विस्तारित गर्न लागिपरेको छ अजम्बरी साकोस । र, यो पछिल्लो छिमलको अजम्बरी साकोसको सही गतिको सारथी बन्नुभएको छ सिईओ सुनुवार । र, उहाँलाई साथ दिनुभएको छ विभागीय प्रमुख एवम् साकोसको एकमात्र सेवा केन्द्र गोकर्णेश्वर ८ अत्तरखेलकी प्रमुख सरस्वती तामाङ ।
तालिमले तिखारिदै व्यवस्थापन
२०६६ साल जेठ ४ गते स्थापना भएको अजम्बरी साकोसमा सरस्वती तामाङ एक वर्षपछि जोडिनुभयो । सिईओ सुनुवार त्यसपछि आवद्ध हुनुभयो । सुनुवार २०७३ साल भदौं १६ गते सेवा प्रवेश गर्नुभयो । उहाँसँग त्यसअघि नै करिब १३ वर्ष सहकारी क्षेत्रमा काम गरेको प्रशस्त अनुभव र ज्ञान थियो त्यसैले व्यवस्थापन प्रमुखको जिम्मेवारी बोकेर काम शुरु गर्नुभयो । तामाङ पनि अनुभवी र सिक्न खोज्ने । लेखा अधिकृत आशिक लामा पनि त्यस्तै । र, त्यसपछि सुनुवार नेतृत्वको अजम्बरी साकोसको टीमले नवीन ढंगले व्यवस्थापकीय सुधारमा जोड दिएर संस्थालाई अहिलेको अवस्थामा ल्याइपुर्याएको छ ।
बिस्तारै सञ्चालक समिति पनि सहकारी सञ्चालनका सम्बन्धमा बुझ्दै निखारिदै गयो । कतिपय अवस्थामा तालिमले र कतिपय अवस्थामा भोगाइले समिति सबल बन्दै गयो । व्यवस्थापनलाई भने तालिम र लगनशीलताले सिकायो । अडिटरको अगाडि राखेर सञ्चालक समितिलाई विभिन्न प्राविधिक विषयमा जानकारी गराएपछि उहाँहरु पनि थप आश्वस्त हुने गरेको सुनुवारले बताउनुभयो ।
सिईओ सुनुवार आफै पनि तालिम र शिक्षा भनेपछि हत्ते गर्नुहुन्छ । नेफ्स्कूनले सञ्चालन गरेको सीटीईभीटीसँगको सम्बन्धनप्राप्त सहकारी व्यवस्थापक कोर्षको पहिलो ब्याची हो सुनुवार । त्यस्तै, राष्ट्रिय सहकारी महासंघले काठमाडौं विश्वविद्यालयसँग मिलेर सञ्चालन गरेको सहकारी डिप्लोमा कोर्ष पनि उहाँले सफलतापूर्वक पूरा गर्नुभयो । सहकारी सिक्ने भोकले आज उहाँलाई बजार प्रतिनिधिबाट व्यवस्थापन प्रमुख बनायो पनि । त्यो कुरा उहाँ सगर्व बताउनु पनि हुन्छ । ‘मैले बजार प्रतिनिधिबाट सुरु गरेको हुँ । बजारदेखि, लेखादेखि, बचत ऋण सबै काम गरेर अनुभव बटुलेँ अनि व्यवस्थापक बनेँ । अझै पनि आफूभन्दा अग्रज र अनुजहरुबाट सिकेर आफ्नो दक्षतालाई सुधार्दै सपार्दै गएको छु । सिकेर कहिले पो सकिन्छ र !’ त्यस्तै, सेकेन्ड म्यान तामाङ र लेखा अधिकृतले पनि दजनौं तालिमहरु लिइसक्नुभएको छ । यस्ता तालिमले अजम्बरीको व्यवस्थापनको सीप र दक्षता तिखारिदै गएको उहाँहरु बताउनुहुन्छ ।
सुरक्षित बनाउँदै लगानी
सुरुवाती चरणको लगानीको ‘स्पीडीङ’ ले ल्याएको केही समस्याबाट पार पाउन सिईओ सुनुवार र विभागीय प्रमुख तामाङसहितको व्यवस्थापनलाई ठूलै कसरत गर्नुपर्यो । सुनुवार सुनाउनुहुन्छ, ‘त्यो मिलाउन समय लाग्यो । दक्ष जनशक्ति र टीम (व्यवस्थापन र बोर्ड दुबै) भएन । आवश्यक प्राविधिक ज्ञान र सीप विकासको अवसर मिलेन र संस्थागत वृद्धि हुन सकेन । साकोसले नजानिकन केही गैरवित्तीय लगानी पनि गरेको थियो । तर, पछि सबै कुरा बुझेपछि र प्राविधिक ज्ञानहरु हासिल गरेपछि ती विषय सुधार भयो ।’
८ औं वार्षिक साधारण सभा सम्पन्न गर्दा सम्म संस्थाको अवस्था बामे सरेको झैं थियो, त्यसपछिको मिहिनेतले एउटा ट्र्याकमा हिडाएको उहाँले जानकारी गराउनुभयो ।
सिईओ सुनुवारले दाबी गर्नुभयो, ‘हामीले पछिल्लो समय गरेको लगानी सबै मासिक किस्ताबन्दीमा हो । र सबै किस्ता समयमै आउँछ । यो हाम्रो अहिलेको सबैभन्दा ठूलो आर्जन हो । विगतमा भएका केही गल्ती कमजोरीबाहेकको कुरा गर्ने हो भने पछिल्लो समयको लगानी विश्लेषण गर्दा भाखा नाघेको ऋण ५ प्रतिशत भन्दा कम नै छ ।’ अजम्बरी साकोसले हाल हाल १० प्रकारका ऋणका सेवा उपलब्ध गराएको छ ।
स–साना ऋणमा जोड
साकोसले सदस्यहरुमाँझ स–साना ऋण लगानीमा जोड दिएको सिईओ सुनुवार बताउनुहुन्छ । ‘अहिले प्रतिव्यक्ति अधिकतम ४० लाख सम्म ऋण लगानी गरिरहेपनि साना ऋण माग हुँदा हामी खुसी हुन्छौं, ’उहाँले भन्नुभयो, ‘स–साना ऋण (५–१०–१५ लाख रुपैयाँ) ले सदस्यलाई पनि भार पर्दैन र संस्थालाई पनि ठूलो रकम एउटै सदस्यकोमा बस्दैन । चाहे जति र योग्य सदस्यहरुले ऋण सुविधा उपभोग गर्न पनि पाउँदछन्, ऋणको पोर्टफोलियो पनि स्वस्थ्य बन्दछ । सबैलाई फाइदा हुन्छ ।’
स्वस्थ्य ऋण लगानीको कुरा गर्दा अहिले अजम्बरीको विशेषता भनेकै इएमआई तिर्न सक्ने सदस्यहरुलाई मात्रै लगानी हो । आयश्रोत कम भएका सदस्यहरुलाई बढी समयावधि उपलब्ध गराउँदछ । साकोसले सदस्यहरुलाई २ वर्षको साटो ३ वा ३ को ठाउँमा ४ वर्षको अवधि उपलब्ध गराउँदछ तर सबै लगानी मासिक किस्तामै उठाउँदछ । अनि साकोसले केहीलाई परियोजना हेरेर ग्रेस अवधि पनि उपलब्ध गराउँदछ । सोही कारण पछिल्ला सबै लगानी सुरक्षित रहेको दाबी सिईओ सुनुवारको छ । अजम्बरी साकोससँग हाल २२ करोड ५८ लाख लगानीमा रहेको ऋण छ भने ३५ प्रतिशत हाराहारी तरलता छ ।
उहाँ भन्नुहुन्छ, ‘पैसा भन्ने कुरो जसरी गयो त्यसरी नै आउछ भन्ने छैन । तै पनि हाम्रो प्रयास सुरक्षित लगानी गर्ने हो । सदस्यको बचतको सुरक्षण गर्ने र प्रतिस्पर्धी ब्याजदरसहित समयमै फिर्ता गर्ने हो । सदस्यको पनि जीवनस्तर सुधार हुने र संस्था पनि नफस्ने गरी ऋण लगानी गर्नेतर्फ नीतिगत व्यवस्थाहरु गरेका छौं । हिजोका कतिपय कमजोरीहरु सुधारेहका छौं ।’
त्यसका लागि ऋण लगानी नीतिमा आधारित रही ऋण परामर्श, परियोजना विश्लेषण, ऋणीको तिर्नसक्ने क्षमता, पारिवारिक सहमति, चरित्र आदि सबै पक्ष हेरेर ‘फाइभ सी अनालिसिस’ गरेर लगानी गर्ने गरिएको सिईओ सुनुवार र सँगै रहनुभएकी विभागीय प्रमुख तामाङले जानकारी गराउनुभयो ।
डिपोजिटः छैन समस्या
अजम्बरी साकोसलाई डिपोजिटको समस्या छैन । ३६ करोड बचत रहेको छ । कुल बचत निक्षेपमा अनिवार्य नियमित बचतको हिस्सा १५ प्रतिशत छ । १५५४ सदस्यमध्ये करिब १४ सयको अनिवार्य मासिक बचत छ । ‘अनिवार्य मासिक बचत भन्ने लगभग हुँदै नभएको संस्थामा हामीले एकदमै मिहिनेत गरेर, सदस्यहरुलाई कन्भिन्स गरेर यो अवस्थामा ल्याइपुर्याएका हौं, ’ सँगै रहनुभएकी विभागीय प्रमुख एवम् सेकेन्ड म्यान तामाङतिर हेर्दै सिईओ सुनुवारले भन्नुभयो, ‘सरस्वती मिसलाई थाहा छ, पहिला कस्तो थियो र हामीले मिहिनेत गरेर कसरी नियमित अनिवार्य बचतको हिस्सा बढायौं भन्ने ।’
अजम्बरी साकोसमा अहिले धेरै बचत संकलन फोनपे क्यूआरकोडमार्फत हुने गरेको छ । सदस्यहरुलाई क्यूआरकोड बाँडिएको छ भने मोबाइल बैंकिङमार्फत पनि फोनपेको क्यूआरकोडमार्फत बचत संकलन हुने गरेको अवस्था छ । साकोसमा हाल १० प्रकारका बचतका प्रडक्ट छन् ।
अजम्बरी साकोसको ब्याजदर परिमार्जन गर्नुपर्ने आवश्यकता सिईओ सुनुवारलाई पनि बोध भएको छ । तर ब्याजदर घटाउँदा पनि पुँजी संकलनमा समस्या नहुने दाबी उहाँ गर्नुहुन्छ । ‘यो भनेको हामीले सदस्यबाट आर्जेको ट्रस्ट हो, ’सिईओ सुनुवार गर्वका साथ सुनाउनुहुन्छ, ‘यस अर्थमा हामी भाग्यमानी नै छौं ।’
सदस्यको यो विश्वासलाई जीवन्त राख्न, उहाँहरुको अनुहारमा खुसी ल्याउन थप सशक्त रणनीतिक योजनासहित सञ्चालक समिति तथा व्यवस्थापन ऐक्यबद्ध भएर अघि बढ्नुपर्ने खाँचो सिईओ सुनुवार औंल्याउनुहुन्छ । हाल अजम्बरी साकोसँग ३८ करोड बढीको कुल सम्पत्ति छ ।
सन्तुष्ट सदस्य
केही वर्षअघि सम्म सदस्यहरुमा ‘के हो ? कसो हो ? बा केही त हुँदैन हाम्रो पैसा ?’ भन्ने जस्ता आशंकाहरु थिए । तर, अहिले परिस्थिति फेरिएको सुनुवार दाबी गर्नुहुन्छ । ‘हामी निर्धक्कका साथ भन्न सक्छौं, केही वर्षयता भने सहकारीका सम्बन्धमा बाहिर जे जस्ता हल्ला आएपनि, नकारात्मक समाचारहरु आएपनि वा साँच्चिकै गलत गरेका सहकारीहरु बन्द भएको भन्ने विषय आएपनि हाम्रा सदस्यहरु भने ढुक्क हुनुहुन्छ, ’उहाँले भन्नुभयो, ‘यो भनेको हामीले अजम्बरी माया नै लगाएको जस्तै हो । सदस्यहरु थोरै हुनुहुन्छ तर सन्तुष्ट हुनुुहुन्छ । अजम्बरी साकोसले सदस्यहरुसँग साँच्चिकै अजम्बरी माया लगाएको छ ।’
संख्याका लागि मात्र सदस्य के काम ?
काठमाडौं जिल्ला भर कार्यक्षेत्र रहेको अजम्बरी साकोसले सबै ११ वटै स्थानीय तहमा सदस्यता बिस्तार गर्न सकेको छैन । गोकर्णेश्वर नगरपालिका र काठमाडौं महानगरपालिकाको वडा नं ६ मा सदस्यता केन्द्रीत छ । कार्यक्षेत्रका हिसाबले अन्यत्रका सदस्यहरुको सहभागिताको खाँचो अजम्बरी साकोसलाई रहेको देखिन्छ । यद्यपि, अहिलकै अवस्थामा सेवा केन्द्र खोल्ने वा बजार प्रतिनिधि राखेर सेवा प्रवाह गर्ने सोच साकोससँग छैन । बरु, भएकै स्थानमा सदस्यहरुको सहभागिता बाक्लो बनाउने योजना सिईओ सुनुवार सुनाउनुहुन्छ ।
धेरै निस्क्रिय सदस्यता खारेजी गरेका कारण पनि साकोसको सदस्यता कम देखिएको सिईओ सुनुवार बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘अनिवार्य मासिक बचत नगर्ने, कारोबार नगर्ने र ऋण खोज्नमात्र सदस्य बन्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्छ भनेर हामीले अभियाननै चलाएर खारेजी गरेका हौं । संख्याका लागि मात्र सदस्य बनाएर के काम ? नामको मात्र सदस्य तर सदस्यको जस्तो दायित्व, जिम्मेवारी र कर्तव्य आवश्यक छ । त्यो भयो भने अधिकार पनि सुरक्षित हुन्छ ।’
१२ जना कर्मचारी रहेको साकोसमा ७ सदस्यीय सञ्चालक समिति तथा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति रहेको छ । व्यवस्थापनमा पनि महिला सहभागिता १० जना रहेको छ । ‘महिलामैत्री साकोस पो रहेछ अजम्बरी !’ भन्ने धिप्री डटकमको प्रतिक्रियाले तीनै जनाबीच एकछिन हाँसो पनि छर्यो ।
एकै वर्षमा ब्राण्ड
अजम्बरी साकोसको व्यवस्थापन बचत ऋण सहकारीलाई ब्राण्डेड बनाउनुपर्छ भन्नेमा सचेत छ । यस विषयमा ज्ञान पनि छ । तै पनि अझै कुनै कार्यक्रममा आवद्ध किन छैन । धिप्रीको जिज्ञासा स्वाभाविक थियो । मैले सोधेँ पनि । मुस्कान फराकिलो बनाउँदै सिईओ सुनुवारले भन्नुभयो, ‘विषयगत केन्द्रीय संघ, प्रदेश बचत संघ तथा राष्ट्रिय सहकारी बैंकले चलाएका कुनै पनि स्तरीकरण कार्यक्रममा हामी सहभागी छैनौं । तर, तिनका प्राथमिक सूचकहरुसँगै वित्तीय विश्लेषणबारे विस्तृत जानकारी राख्छौं । तर, अजम्बरी साकोसको व्यवस्थापन समूह संस्थालाई एउटा अवस्थामा पुर्याएपछि स्तरीकरणमा आवद्ध भएर एकै वर्षमा ब्राण्ड लिने तयारीमा जुटेको छ । उहाँ अगाडि भन्नुहुन्छ, ‘कर्र्बस वा प्रोवेसनमा आवद्ध भएर दशौं वर्ष झुण्डिनुभन्दा बरु सबै तयारी गरेर जाने, सूचकहरुमा सुधार गर्ने र एकै पटकमा ब्राण्ड लिने हाम्रो योजना हो ।’
अबको अर्जुनदृष्टि
प्राथमिक पुँजी कोषलाई सबल बनाउनुपर्ने मुख्य चुनौती छ । यो चुनौती विगत लामो समयअघि लगानी गर्दा भएका केही कमजोरी र गल्तीका कारण हुन् । सुनुवार आइसकेपछि ती सबैलाई एकएक गर्दै सच्याउँदै लानुभयो । त्यसमा पुरानो कर्मचारी सरस्वती तामाङ, आशिक लामा लगायतको मिहेनतले रंग ल्यायो । सञ्चालक समितिले पनि यी सबै विषय बुझेर सहयोग गर्दै गयो । विगतमा विनाधितो लगानी गर्ने प्रचलन पनि बढी थियो, त्यसले पनि जोखिम बढाएको थियो भने त्यसबेलाको माहोलनै शेयर भन्दा बचत निक्षेपमा जोड थियो जसले गर्दा शेयर वृद्धि पनि हुन सकेन । तर अब भने सम्हालिएको भन्दै सन्तोषको श्वास फेर्नुहुन्छ सिईओ सुनुवार । हाल १ करोड ८९ लाख रहेको शेयर पुँजी वृद्धि अजम्बरी साकोसको लागि चुनौती भएको सिईओ सुनुवार स्वीकार्नुहुन्छ ।
सुनुवार सुनाउनुहुन्छ, ‘अब ४ हजार नयाँ सेयर सदस्य थप गरी औसतमा प्रत्येक सदस्यबाट ५ हजारदेखि ७ हजार रुपैयाँका दरले पुँजी संकलन भयो भने संस्थाको सेयर पुँजी २ करोड उठ्दछ । अहिले भएको पुगनपुग २ करोड जोड्दा ४ करोड पुग्दछ । त्यसको दश गुणा अर्थात् ४० करोड सम्म बचत संकलन गर्न पाइयो भने ६० लाख सम्म ऋण लगानी गर्न पाइयो । त्यसो भयो भने हाम्रो निड मिट हुन्छ । अनि सबै सदस्यलाई मासिक ५ सय मात्र अनिवार्य बचत गर्नुभयो भने अजम्बरी साकोसको अवस्थामा आमुल परिवर्तन आउँछ ।’ यही अर्जुनदृष्टिका साथ अजम्बरी साकोसको टिम अघि बढीरहेको सिईओ सुनुवारले धिप्री डटकमलाई सुनाउनुभयो ।
सदस्यका राय सुझावहरु संकलन गरी बद्लिदो परिस्थिति र अब आउने चुनावी साधारण सभापछि बन्ने नयाँ सञ्चालक समिति समेतको संलग्नतामा कार्यान्वयन गर्न सकिने खालेको रणनीतिक योजना निर्माण गरी साकोसलाई थप व्यावसायिक, संस्थागत, सदस्य मैत्री र दिगो बनाउँदै लाने योजना सिईओ सुनुवारले सुनाउनुभयो । सँगै रहनुभएकी विभागीय प्रमुख तामाङले पनि मुन्टो हल्लाएर मन्द मुस्कानसहित सहमति जनाउनुभयो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com