Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
प्रधानमन्त्री

जनअधिकार खोस्ने तागत कसैसँग छैन: प्रधानमन्त्री

जनअधिकार खोस्ने तागत कसैसँग छैन: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग नभएको स्पष्ट पार्दै देशलाई कसैले अप्ठ्यारोमा पार्न खोजेमा युवासंघले बाघलेझैँ झम्टिने बताएका छन्।

उनले राष्ट्रिय युवा संघ नेपालद्वारा बुधबार आयोजित राष्ट्रिय स्वयंसेवक भेला, २०८१ लाई सम्बोधन गर्दै देश र जनताको लागि परिआएमा युवासंघले प्रतिगामी शक्तिसँग जस्तोसुकै मुकाविला गरेर पनि सक्षमता देखाउनुपर्ने प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बताएका थिए।

‘हामीले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैको छैन। यो कुरा अझ राम्रोसँग युवाहरुले बताउन सक्छ। देशलाई कसैले अप्ठ्यारोमा पार्न खोजेमा युवा सङ्घले बाघले झम्टिए झैँ झम्टन्छ’, उनले भने।

उनले युवासंघको स्वयंसेवाको क्रियाकलाप राम्रो थालनी भएको उल्लेख गर्दै भने 'यस शक्तिलाई व्यवस्थित र मर्यादितरुपमा परिचालन गर्नुस्। पहिलाको युथ फोर्स जस्तै। यो एउटा निसस्त्र स्थायी टोली होस्, कोही प्रतिगामी शक्ति टाउको जुधाउन आएमा वा विकास विरोधीहरुले हाम्रा काममा अवरोध खडा गरेमा सशक्त प्रतिवाद गरोस्।’

प्रधानमन्त्री ओलीले सरकारले एउटा कर्मचारीलाई हटाउँदा केहीले छाती पिटिपिटी रोएको टिप्पणी गर्दै प्रधानमन्त्रीले जवाफ दिइरहनुनपर्ने स्पष्ट पारे। ‘प्रधानमन्त्रीले जवाफ दिइसक्यो। एउटा हटायो, अर्को नियुक्ति गर्‍यो। सक्कियो। त्यही हो जवाफ। उहाँहरुलाई सहयोग हुने, उहाँहरुले जो भन्यो त्यही नियुक्ति गर्ने हाम्रो काम होइन।’

प्रधानमन्त्री ओलीले चैत १८ गतेभित्र अध्यादेशहरुलाई प्रतिस्थापन विधेयक ल्याएर पारित गर्नुपर्ने अवस्थामा त्यसलाई रोक्न विपक्षीले सदन अवरोधको काम थालेकामा चिन्ता व्यक्त गरे।

विपक्षीलाई आग्रह गर्दै प्रधानमन्त्रीले भने, ‘यति सस्तो, यति हल्का र यति उत्ताउलो नहुनुस् तपाईँहरु। प्रधानमन्त्रीका सवालमा जथाभावी नबोल्नुस्। आखिर तपाईँहरु चिसै पानीले नुहाउनुपर्छ। हामी न मात्तिछौँ। न आत्तिन्छौँ। धैर्यपूवर्क अगाडि बढ्छौँ।’

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार