Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

बंगलादेशको हाउलादार कम्पनीले नेपालका ठूला १० वाणिज्य बैंकको पूर्ण लेखा परीक्षण भदौदेखि गर्ने

बंगलादेशको हाउलादार कम्पनीले नेपालका ठूला १० वाणिज्य बैंकको पूर्ण लेखा परीक्षण भदौदेखि गर्ने

काठमाडौं । नेपालका ठूला १० वाणिज्य बैंकको पूर्ण लेखा परीक्षण आगामी भदौदेखि सुरु गरिने भएको छ । नेपाल राष्ट्र बैंकको छनोटमा परेको बंगलादेशको लेखा परीक्षण फर्म हाउलादार युनुस एन्ड कम्पनीले यसै साता नेपाल राष्ट्र बैंकसँग सम्झौता गरी काम सुरु गर्ने भएको हो ।

सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट विस्तारित कर्जा लिने क्रममा राखेका सर्त अनुसार १० वाणिज्य बैंकको पूर्ण लेखा परीक्षण गर्ने भनेको थियो ।

सोही अनुसार केन्द्रीय बैंकले सुरु गरेको दोस्रो प्रक्रिया टुंगोमा पुर्‍याउँदै करिब साढे ४ करोड लागतमा आगामी महिनादेखि लेखा परीक्षण नै सुरु हुने भएको हो ।

उक्त प्रक्रियालाई अन्तिम रूप दिई काम सुरु गर्न केन्द्रीय बैंकले यसै साता हाउलादारसँग सम्झौता गर्ने तयारी गरेको हो । 

पहिलो पटक अन्तर्राष्ट्रिय लेखा परीक्षकबाट लेखा परीक्षण गराउन प्रक्रिया सुरु गर्दा असफल भएको थियो । त्यसपछि केन्द्रीय बैंकले पुस २०८१ देखि पुनः दोस्रो पटक फर्म छनोट प्रक्रिया सुरु गरेको थियो ।

केन्द्रीय बैंकले अन्तर्राष्ट्रिय लेखा परीक्षण फर्मबाट आएको आवेदन मार्फत १९ फागुन २०८१ मा ६ कम्पनी सर्ट लिस्ट गरेको थियो । सर्ट लिस्टमा डेलोइट पार्टनर श्रीलंका, हाउलादार युनुस एन्ड कम्पनी बंगलादेश, केपीएमजी एस्योरेन्स एन्ड कन्सल्टिङ सर्भिस भारत, जेभी मेहेरा जेकेएसएस एसएसबीडीआई जेभी, एमएसके एन्ड एसोसिएट्स भारत र जेभी एसआरबीए एन्ड बिके अग्रवाल एन्ड कम्पनी परेका थिए।

तीमध्ये उत्कृष्ट प्रस्ताव बुझाउने हाउलादार युनुस एन्ड कम्पनी छनोट भएको थियो । केन्द्रीय बैंकले छनोटमा परेको फर्मलाई २५ जेठसम्म वित्तीय प्रस्ताव माग गरेको थियो । केन्द्रीय बैंकको माग अनुसार हाउलादरले बुझाएको ४ करोड ३५ लाख रुपैयाँ बराबरको वित्तीय प्रस्ताव पनि स्वीकृत भएको केन्द्रीय बैंकले जनाएको छ ।

यो बीचमा हाउलादार छनोट भएको विषय सर्वोच्च अदालतसम्म पुगेको थियो । त्यसले गर्दा पनि असारमा सुरु गर्ने भनिएको लेखा परीक्षण प्रक्रिया भदौ पुगेको हो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार