Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

इजरायल-हमास युद्धविराम सहमति, सबै बन्धकहरू अब छिट्टै मुक्त गरिने

इजरायल-हमास युद्धविराम सहमति, सबै बन्धकहरू अब छिट्टै मुक्त गरिने

एजेन्सी । इजरायल र हमासबीच युद्धविराम गर्ने सहमति भएको छ । इजरायल र हमासबीच गाजामा युद्धविरामको पहिलो चरणमा सहमति भएको अलजजिराले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इजरायल र हमासबिच आफ्नो शान्ति योजना अनुरुप इजरायल र हमासबिच युद्ध बिराम भएको घोषणा गरेका छन्।

उनले आफ्नो सामाजिक सञ्जालमार्फत भने ‘इजरायल र हमास दुवै पक्षले हाम्रो शान्ति योजनाको पहिलो चरणमा सहमति जनाएका छन्।’ट्रम्पले भने ‘यसको अर्थ सबै बन्धकहरू अब छिट्टै मुक्त गरिनेछन्, र इजरायली सेना शान्ति सम्झौता अनुसार सहमति गरिएको रेखासम्म फिर्ता हुने छ।’ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यो सम्झौतोलाई ‘इजरायलका लागि ऐतिहासिक दिन’ भन्दै यसलाई अनुमोदन गर्न बिहीबार मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्।

हमासले पनि सम्झौताको पुष्टि गर्दै ट्रम्प र संलग्न देशहरूलाई इजरायलले सम्झौताका सबै प्रावधानहरू पूर्ण रूपमा पालना गर्ने सुनिश्चित गर्न आग्रह गरेको छ। दुई वर्ष लामो युद्ध अन्त्य हुने आशा पलाए पनि अझै केही महत्वपूर्ण विवरणहरूमा छलफल हुन बाँकी रहेको बीबीसीले जनाएको छ।

इजिप्टमा भइरहेको वार्ता सन् २०२३ अक्टोबर ७ को हमास नेतृत्वको आक्रमणपछिको ठीक दुई वर्ष दुई दिनपछि भएको हो, हमासले इजरायलमा गरेको आक्रमणका क्रममा करिब १,२०० जना मारिएका थिए र २५१ जनालाई अपहरण गरिएको थियो।

त्यसयता गाजामा इजरायली सैन्य कारबाहीका कारण कम्तीमा ६७,१८३ जना मारिएका छन्, जसमा २०,१७९ बालबालिका पनि रहेको जनाइएको छ।

युद्धविराम वार्ताको मुख्य मध्यस्थकर्ता कतारले पनि यो सहमति पुष्टि गर्दै सम्झौताका सबै प्रावधान र कार्यान्वयन संयन्त्रमा सहमति भएको जनाएको छ । झन्डै दुई हप्ताअघि सेप्टेम्बर २९ मा ट्रम्पले ह्वाइटहाउसमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँगको भेटपछि आफ्नो २०–बुँदे योजना प्रस्तुत गरेपछि मात्रै वार्तामा प्रगति भएको थियो ।

इजरायली सेनाले सामाजिक सञ्जाल ‘एक्स’ मा पोष्ट गर्दै युद्धविराम सम्झौताको स्वागत र सम्भावित परिस्थितिका लागि सेना तयार हुन आदेश दिएको छ । साथै, बन्धक उद्धार अभियान संवेदनशील र व्यावसायिक ढङ्गले सञ्चालन गर्ने तयारी भइरहेको खबरमा उल्लेख छ ।

हमासले पनि इजरायललाई सहमतिको मापदण्डअनुसार प्यालेस्टेनी कैदीहरूको सूची बुझाएको र अन्तिम सहमतिको प्रतीक्षा भइरहेको जनाएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले यस युद्धविरामलाई समाधानतर्फको ऐतिहासिक अवसर भन्दै स्वागत गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार