Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

बुबा, हाम्रो जग तपाईंको पसिना र इमान्दारीमा उभिएको छ

बुबा, हाम्रो जग तपाईंको पसिना र इमान्दारीमा उभिएको छ

एउटा मेहेनती र इमान्दार बुवाको छोरी हुन पाउनु मेरो लागि संसारकै सबैभन्दा ठूलो सौभाग्य र गर्वको विषय हो। तपाईं हाम्रो लागि केवल एउटा अभिभावक मात्र हुनुहुन्न, तपाईं त हाम्रो आत्मविश्वास हुनुहुन्छ। जीवनका कठिन मोडहरूमा जब म अल्मलिन्छु, तपाईंको त्यो मेहेनती स्वभाव र कहिल्यै हार नमान्ने जोसले मलाई सम्हालिन र अघि बढ्न सिकाउँछ। तपाईंका संघर्षका कथाहरू मेरो लागि कुनै पनि किताबमा लेखिएका उपदेशभन्दा धेरै ठूला र मूल्यवान् छन्।

म जहाँ जान्छु, जुन अवस्थामा हुन्छु, मलाई सधैं आभास हुन्छ कि मेरो पछाडि कोही हुनुहुन्छ-जसले मेरो हात समातेर मलाई सही बाटोतर्फ डोर्‍याइरहनुभएको छ। यो मेरो अटल विश्वास हो।

म आफूलाई त्यतिबेला झन् बढी 'ब्लेस्ड' महसुस गर्छु, जब म सम्झन्छु कि हामी एउटा यस्तो बुवाको सन्तान हौं जसले बिना छलकपट, विशुद्ध मेहेनतको कमाइले हामीलाई हुर्काउनुभयो। हाम्रो जग कुनै भ्रष्टाचार वा चाप्लुसीको सम्पत्तिमा होइन, तपाईंको पसिना र इमानदारीमा उभिएको छ। त्यसैले त संसारको जुनसुकै कुनामा भए पनि म शिर ठाडो पारेर हिँड्न सक्छु।

तपाईंले दिनुभएको आत्मविश्वास र देखाउनुभएको सही मार्ग नै आज मेरो सबैभन्दा ठूलो सम्पत्ति हो। तपाईंको मेहेनतले मलाई सिकाएको छ कि परिस्थिति जस्तोसुकै होस्, यदि मनमा इमान्दारिता र हातमा मेहेनत छ भने सफलता र आत्मसन्तुष्टि अवश्य मिल्नेछ।

अहिले तपाईं जसरी सामाजिक सेवामा निस्वार्थ भावले समर्पित हुनुहुन्छ, यसमा हाम्रो तर्फबाट सधैं साथ र समर्थन रहनेछ। समाज सेवाका यी पवित्र कार्यहरूले तपाईंको जीवन अझै हँसिलो र खुसी बनोस्। तपाईंले समाजको हितका लागि गर्नुभएका सबै कार्यहरूले सार्थकता पाऊन्, भगवानसँग मेरो सधैं यही प्रार्थना छ।

पुस १४ गते- बुवाको जन्मदिन। बुवा सधैं निकै गर्व र खुसीका साथ सुनाउनुहुन्थ्यो कि उहाँको र राजा वीरेन्द्रको जन्मदिन एकै दिन पर्छ। जागीरको सिलसिलामा साथीभाइहरूले राजाको जन्मदिनसँगै बुवालाई पनि सम्झेर शुभकामना दिन्थे, जुन कुरा उहाँ हामीलाई निकै उत्साहका साथ सुनाउनुहुन्थ्यो।

नेपाल प्रहरीको जागीरे बुवा सधैं घरमा बस्न त पाउनुहुन्नथ्यो, तर जब छुट्टीमा घर आउनुहुन्थ्यो, उहाँको पूरै समय हाम्रो लागि हुन्थ्यो। हामीलाई नुहाइदिने, हात-खुट्टाको नङ काटिदिने र हरेक पटक छुट्टी सकिएर जाँदा मेरो कपाल 'पुलिस कट' काटिदिने उहाँको एउटा नियम नै थियो। ११/१२ वर्षको हुँदासम्म मेरो कपाल' ब्वाईज कट' नै थियोस जामा लगाउने भएर मात्र म केटी जस्तो देखिन्थेँ, नत्र त सबैले मलाई केटा नै भन्थे।

मैले धेरै साथीहरू देखेकी छु, जसका बुवा आर्मी वा पुलिसमा हुनुहुन्थ्यो। उनीहरू बुवा घर आउँदा बेल्टको कुटाइ खाने डरले थरथर काप्थे र बुवा घर नआइदिए हुन्थ्यो जस्तो गर्थे। तर हाम्रो घरमा भने ठ्याक्कै उल्टो हुन्थ्यो-हामीलाई सधैं 'बुवा कहिले घर आउनुहुन्छ ?' भन्ने पर्खाइ हुन्थ्यो।

मलाई अझै याद छ, एक पटक साइकल सिक्ने रहरले गर्दा मैले नै जबरजस्ती गरेर घरमा साइकल किन्न लगाएको थिएँ। साइकल चलाउन सिक्दा धेरै ढाड बंग्याएर कुदाएकाले पछाडिबाट एक सुवाठ लट्ठीले भेटेको बाहेक, बुवाको हातबाट कुटाइ वा गाली खाएको मेरो रेकर्डमै छैन। बुवाले हामीलाई कहिल्यै डर र त्रासमा राख्नुभएन, बरु सधैं प्रेम र सुरक्षाको न्यानो छहारी दिनुभयो।

आज तपाईंको जन्मदिनमा भगवानसँग यही प्रार्थना छ-तपाईंको सुस्वास्थ्य र दीर्घायु रहोस्। तपाईंको अनुहारमा यो मुस्कान सधैं यसरी नै बाँचिरहोस्। मेरो मन र आत्मा सधैं तपाईंकै काखको न्यानोपन र आशीर्वादको छहारीमा रहिरहनेछ।

जन्मदिनको मुरी मुरी शुभकामना बुवा!
तपाईंकी छोरी हुनुमा मलाई सधैं गर्व छ र रहिरहनेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार