काठमाडौं । पहिलो पटक मैले २०३६ सालमा रक्तदान गरेँ, त्यसबेला म १८ वर्षको थिएँ, साधुराम महर्जनले हिजो आयोजित एक कार्यक्रममा धिप्री डटकमलाई बताउनुभयो । हालसम्म उहाँले ८४ पटक रक्तदान गरिसक्नुभएको छ । महर्जनले प्रत्येक तीन महिनामा रक्तदान गर्दै आउनुभएको छ । पछिल्लो पटक २०८३ साउन ३१ गते रक्तदान गरेको उहाँले जानकारी गराउनुभयो । लगनखेलबासी महर्जन स्वस्थ्य र निरोगी हुनुहुन्छ । भन्नुहुन्छ, 'अहिलेसम्म केही रोग नै छैन । अझैं तीन तीन महिनामा सकुन्जेल गर्छु ।' आफैले रक्तदान कार्यक्रम सञ्चालन गरेर उक्त पुनित कार्यमा सहभागी हुँदै आउनुभएको महर्जनले बताउनुभयो । र, उहाँलाई अहिलेसम्म कुनै प्रकारको शारिरिक वा अन्य समस्याले रक्तदान गर्न नपाएको भन्ने गुनासो छैन ।
उहाँ नेपाल आँखादान समाजका निवर्तमान अध्यक्ष एवम् वर्तमान कार्यसमिति सदस्य हुनुहुन्छ । तिलगंगा आँखा बैंकबाट प्रतिनिधित्व गर्दै आँखादान समाजमा विगत लामो समयदेखि योगदान गर्दै आउनुभएका महर्जन नेपाल जलन फाउन्डेशनको महासचिव समेत हुनुहुन्छ ।
रक्तदान जीवनदान मान्नुहुन्छ महर्जन । त्यतिमात्र नभइ, उहाँ जीवनमा रक्तदान, मृत्युपश्चात आँखा र छालादान पुण्य काम भएको भन्दै यससम्बन्धमा जनसचेतना अभिवृद्धिमा निरन्तर क्रियाशील हुनुहुन्छ । खासगरी नेपालका बरिष्ठ एवम् सुप्रसिद्ध कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई प्रेरणास्रोत मान्नुहुने महर्जनले उहाँहरुलाई ‘पिताजी’ भनी सम्बोधन गर्नुहुन्छ ।
तेरापन्थ युवा परिषद्ले महजोडीलाई आफ्नो ‘बाँचुञ्जेल रक्तदान, मरणोपरान्त नेत्रदान’ अभियानको सद्भावना दूत घोषणा गर्न हिजो आयोजना गरेको कार्यक्रममा समेत आफ्नो प्रस्तुतिकरणमा महर्जनले उनै ‘पिताजीहरु’ सामू जनचेतना अभिवृद्धि यी कुराहरुमा जोड दिनुभयो । महजोडीले त मरणोपरान्त आँखादान गर्ने प्रण गरिसक्नुभएको छ भन्ने विषयसँगै आँखा तथा छालादान र रक्तदानका विषयमा उहाँले सचेतना जागृत गराउनुभयो । महर्जन जलन तथा छालादान जनसचेतना अभियानमा पनि संलग्न हुँदै आउनुभएको छ ।
समाजसेवामा सक्रिया महर्जनले हिजोको कार्यक्रममा एउटा कविताको पंक्ति सुनाउनुभयो, 'जीवन एक टेष्ट हो, धेरै सोच्नु वेस्ट हो, संसारमा हामी गेष्ट हो, आँखादान, छालादान, रक्तदान बेस्ट हो ।' रक्तदानका जनजागरण अभियन्ता महर्जनले आफ्नो सामाजिक सञ्जालमा एउटा मीठो ट्यागलाइन नै लेख्नुभएको छ, 'बन्दैन रतग कारखानामा, अरु कुनै बस्तु जस्तो, संकतको बेला रक्तदान गर्ने, त्यो ब्यक्ति महान कस्तो !'
अनि, महर्जनले नै धिप्री डटकमलाई सुनाउनुभयो, 'नेपालमा हालसम्म सबैभन्दा बढी पटक रक्तदान गर्ने व्यक्ति प्रेमसागर कर्माचार्य हुनुहुन्छ । उहाँले १ सय ८५ पटक रक्तदान गरिसक्नुभएको छ ।'
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com