Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

नेफ्स्कूनद्वारा रसुवा बाढीपीडितका लागि १० लाख सहयोग घोषणा, राज्यको प्रयासमा हातेमालो गर्न आग्रह

नेफ्स्कूनद्वारा रसुवा बाढीपीडितका लागि १० लाख सहयोग घोषणा, राज्यको प्रयासमा हातेमालो गर्न आग्रह

काठमाडौं । मुलुकको सहकारी अभियानको जेठो संघ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले रसुवाको भोटेकोशी नदीमा भीषण बाढीले पुर्याएको अपूरणीय मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै पीडितहरुको सहयोगका लागि तत्काल १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । नेफ्स्कूनले समग्र सहकारी अभियानकै तर्फबाट द्रुत पहलकद्मी गर्दै आर्थिक सहयोग सँगै उद्दार, राहत र पुनःस्थापनामा एकीकृत भई जुट्न समग्र बचत तथा ऋण सहकारी अभियानलाई अपिल गरेको छ । 

नेफ्स्कून अध्यक्ष चन्द्रप्रसाद ढकालले आज अपिल जारी गरी रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण भएको ठूलो मानवीय एवम् भौतिक क्षतिले मुलुककको समग्र बचत तथा ऋण सहकारी अभियान अन्यन्त स्तब्ध र मर्माहत भएको भन्दै गहिरो दुःख व्यक्त गर्नुभएको छ । नेफ्स्कूनले संकटको यो घडीमा उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यहरूलाई प्रभावकारी बनाउन राज्यका सम्पूर्ण संयन्त्र, नियामक निकाय, सहकारी संघ र संस्था तथा दायित्वबोधक नागरिक समाज एकजुट भई हातेमालो गर्नुपर्ने भन्दै त्यसमा जुट्न सबैलाई आग्रह गरेको छ ।

नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'प्राकृतिक विपद्को यस संकटपूर्ण घडीमा उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यहरूलाई प्रभावकारी बनाउन राज्यका सम्पूर्ण संयन्त्र, नियामक निकाय, सहकारी संघ र संस्था तथा दायित्वबोधक नागरिक समाज एकजुट भई हातेमालो गर्नु हाम्रो प्राथमिक कर्तव्य हुन आउँछ । विपद् व्यवस्थापनमा राज्यको प्रयासमा हातेमालो गर्दै अभियानको तर्फबाट देहाय बमोजिम सहयोग र ऐक्यबद्धताका लागि हार्दिक आह्वान गर्दछौं ।'

अपिलमा के छ ?
संघको प्रारम्भिक योगदानः तत्काल राहत तथा पुनरुत्थान कार्यमा सघाउ पुऱ्याउने उद्देश्यले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को तर्फबाट  'प्रधानमन्त्री दैवी प्रकोप राहत कोष' मा रु. १० लाख (दश लाख) जम्मा गरिने प्रतिबद्धता व्यक्त गर्दछौं ।

अभियानको तर्फबाट आर्थिक योगदानः सम्पूर्ण प्रारम्भिक बचत तथा ऋण सहकारी संस्था एवं विषयगत संघहरूलाई राज्यद्वारा घोषित आधिकारिक राहत कोष वा बैंक खाताहरू मार्फत आफ्नो संस्थागत क्षमता अनुसार स्वेच्छिक योगदान गरी संकटको घडीमा मानवीय दायित्व पुरा गर्न हार्दिक अपिल गर्दछौँ ।

नेफ्स्कूनमा विवरण अध्यावधिकः अभियानको तर्फबाट भएको कुल योगदान र ऐक्यबद्धतालाई एकीकृत गरी समग्र अभिलेख तयार गर्नुपर्ने भएकाले, सम्पूर्ण संघरसंस्थाले राहत कोषमा जम्मा गरेको योगदानको भौचर वा विवरणको जानकारी नेफ्स्कून केन्द्रीय कार्यालय वा इमेल ठेगानामा (nefscun329@gmail.com) उपलब्ध गराई सहयोग गरिदिनुहुन अनुरोध छ ।

स्थानीय उद्धारमा सक्रियताः प्रभावित क्षेत्रका स्थानीय सहकारी संघरसंस्थाहरूलाई नियामक निकाय तथा स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वय गरी भौतिक, स्वयंसेवी तथा व्यवस्थापकीय सहयोगमा सक्रियतापूर्वक जुट्न हार्दिक आग्रह गर्दछौं ।

यस अकल्पनीय विपद्मा परी ज्यान गुमाउनुहुने सम्पूर्ण स्वदेशी तथा विदेशी नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।

FLOOD LH (1)_page-0001_11zon.jpg
undefined

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार