सुरुमै प्रष्ट पारौं, यो कुनै एकादेशको कथा होइन । मेरो साहिंलो काकाको कथा हो । मेरो साहिंलो काका अर्थात् एउटा आम मानिस (कमनर) को मर्मस्पर्शी कथा । लेख्न बाँकी धेरै प्रेरणादायी कथाहरुमध्येको एक । आम मानिसको अदम्य साहस, संघर्ष र सफलताको कथाहरुबाट प्रेरणा लिन खोज्नेहरुका लागि अर्को एउटा पढ्न र हेर्न सकिने सामाग्री ।
यो कथासँग ओखलढुङ्गा, सुनसरी अनि काठमाडौं हुँदै अमेरिकाको पनि कथा जोडिएको छ । साहिंला काकाको ‘जीन्दगीका सफर’ को कथा । सधै सक्रिय कर्मयोगी काकाहरुको प्रतिनिधिमूलक ‘क्याबात’ कथा । अनि, ऋणमुक्त भएर परिवार आफन्तजन र अन्य थुप्रैका लागि सहयोगी बन्नुभएका साहिंला काकाको कथा हो ।
काका काकी उड्नुभयो अमेरिका
२०७२ साल भदौ ४ गते पत्नी मन्दिरा साथ काका अमेरिका उड्दा थाप्लोमा ४८ लाख ऋण थियो । कुनै गगनचुम्बी महत्वाकांक्षा नराखी ५ जनाको परिवारको सामान्य व्यवहार चलाउँदा लागेको ऋण । थोरै कमाइको भरमा ३ सन्तानलाई हुर्काउने पढाउने, दुःखजिलो गरी मधेश हुँदै काठमाडौंमा एउटा घर बनाउने र बाबुआमा नातानालालाई पनि थोरबहुत सहयोग गरौं भन्दाभन्दै बढेको ऋण ।
बैंकको ६ लाख, बाँकी सबै व्यक्तिहरुको । सुन पनि राख्नुभएको थियो । ब्याज नतिर्नुपर्ने ऋण कमै थियो । अनि त्यही ऋण तिर्ने उपायमा भौतारिदै गर्दा जेठो छोरा बिनोदलाई अमेरिकाको डिभी पर्यो । त्यसको केही वर्ष पछि काका काकी पनि छोराले बोलाएर अमेरिका जाँदै हुनुहुन्थ्यो । ठीक त्यसै बेला हो काकाको आत्मविश्वासले आङ तन्कायो–अब चाँडै ऋण मुक्त भइन्छ भनेर ।
साहिंला काका अर्थात् टंक पौडेल । पछिल्लो दश वर्षमा साहिंलो काकाले संघर्षसँगै सोचे जस्तै प्रगति गर्नुभयो । अमेरिका गएपछि प्रगति भयो । प्रगतिको मापन पैसाबाट गर्ने हो भने पनि काकाको उमेर र परिस्थिति विचार गर्दा राम्रै सफलता हो यो । किनकि, ऋण मुक्त भएर थुप्रैलाई गुन पनि लगाउन भ्याउनुभएको छ ।
प्रगतिको मापन परोपकारबाट गर्ने हो भने काका त्यसमा पनि कम ठहरिनुभएको छैन । अनि, प्रगतिको मापन परिपक्वताबाट गर्ने हो भने पनि काकामा उमेर, आर्थिक अवस्था र सोचाइको विराटताले थप परिपक्वता ल्याएको स्पष्ट अनुभूति हुन्छ । यसबीच तेस्रो पटक नेपाल आएर काका भर्खरै अमेरिका फर्कनुभएको छ । जानु अघि भन्नुभयो, ‘६५ वर्ष पूरा गरेँ । ६६ को अन्तिम तिर अमेरिका छोड्छु । १२ वर्ष हुन्छ । अब धेरै बस्दिनँ ।’
बिनोदलाई डिभी पर्यो
दशै मान्न ओखलढुङ्गाबाट काठमाडौं आएको बेला कतै घुम्न गएको बखत कसैलाई डिभी पर्यो रे भन्ने समाचार टंक काकाको कानमा पर्यो । अमेरिकी सपना साकार हुँदै गरेको विषय कसैले सुनाए । काकालाई अरु सबै कारणहरु भन्दा बढ्दै गरेको व्यवहार, कमाइको सीमितता, ऋणको बढ्दो बोझ र भविष्यमा गर्न बाँकी केही ठूला अभिभावकीय कर्तव्यहरुले बा कही कतै चिठ्ठा पो परिहाल्छ कि भन्ने झिनो आश थियो ।
फलानोलाई डिभी पर्यो अरे, राम्रो भयो । हाम्रो पनि भरे हुनेनि बा परिहाल्छ कि ? भनेर घरमा सुनाउनुभयो । आफ्ना बाध्यताहरुमा छोराहरुको साथ मिल्ला कि भन्ने काकाको झिनो आश थियो । हुनत पढाइमा तेज बिनोदलाई अधिकृत बनाउने काकाको सपना थियो । तर, फेरि अमेरिका भनेको अमेरिका नै हो । आर्थिक स्थिति बलियो बनाउने अवसर अधिकृत भन्दा अमेरिकामै बढी थियो ।
उता, जेठोबाठो बिनोद पनि ‘करियर’ सोच्ने बेलामा पुगेको थियो । उसलाई पनि केही गर्न पाए हुन्थ्यो भन्ने थियो । मामाघर रामपुर गएको बेला पनि मामाले फेरि डिभीकै कुरा सुनाउनुभएछ । त्यसबेला डिभी आज जस्तो सबैको मुखमा झुण्डिइसकेको थिएन । अनि सञ्चारको विकास आजको जस्तो नभएको समय थियो त्यो ।
कहिलेकाही नसोचेको कुरा हुन्छ । बिनोदले थाहै नपाइ डिभी भरेछ । ‘सेकेन्ड लेटर’ आयो । साइला काकाको फैका घरमा खुसी आयो ।
काका पैसा जोहो गर्न लाग्नुभयो, छोरा कागजपत्र तयारी गर्न लाग्यो । दुबै काम जोडतोडले गरेपछि भिसा लाग्यो । बिनोद अमेरिका पुग्यो । २०६६ सालको कुरा थियो यो । छोरा जाँदा ६ लाख खर्च भएको काकाले सुनाउनुभयो ।
............................................
अमेरिकामा गएको केही वर्ष बिनोदको पनि अवस्था उति राम्रो थिएन । साथीहरुसँग मिलेर बसेको थियो । स्लिपिङ ब्याग भित्र सुत्थे । बुबाआमा आउने भनेपछि बिनोदले एक जोर खाट पलंग किनेको रहेछ । भर्खरै गाडी पनि किनेको थियो । लगत्तै बिनोदले श्रीमती पनि लानुपर्यो । छोराले बोलाएर गएपछि त काकालाई झन् पक्का भयो ‘मैले काम नगरी हुँदैन ।’ अनि खोजी गर्न थाल्नुभयो ।
अमेरिकामा त्यसबेला अहिले जस्तो असहज थिएन । गएको एक महिना भित्रै काका काकीलाई पनि काम गर्न अनुमति पत्र मिल्यो । काकालाई घुम्न भन्दा काम खोजेर गर्न पाए हुन्थ्यो भन्ने थियो । सक्रियतामा कमी थिएन । स्वभाव छटपटे नै थियो । मनले वाह अमेरिका भनेपनि दिमागमा ‘४८ लाख ऋण छ है’ भनेर बारम्बार सम्झाइरहन्थ्यो, झस्काइरहन्थ्यो, चिमोटी रहन्थ्यो ।
............................................
२०७१ सालको विवाह पञ्चमीको दिन बिनोदको विवाह भएको थियो । छोराको विवाह गर्दा पनि राम्रै खर्च भयो, अनि राम्रै ऋण पनि थपियो । त्यसको अर्को साल त काका काकी अमेरिका उडिहाल्नुभयो । केही समयपछि नै बुहारी एलिना पनि अमेरिका पुगिन् । साँच्चै भन्ने हो भने काठमाडौंको समस्या अमेरिका सरेजस्तै भयो ।
४ जना अमेरिका, कान्छो छोरा काठमाडौं । छोरी मनिषाको भर्खर बिवाह भएको थियो । काठमाडौंमा भन्दा अमेरिकाको जीवन कठिन थियो । अनि बिनोदलाई पनि असहज थियो । एउटा गाडी थियो । आमालाई काममा पुर्याउने र लिन जाने, बुबालाई पनि काममा पुर्याउने र लिन जाने, श्रीमतीलाई पनि त्यसै गर्नुपर्यो अनि आफ्नो पनि समय व्यवस्थापन गर्नुपर्यो । तर, जेहोस् जीवन रथ अघि बढ्दै गयो । सुरुमा घन्टाको साढे ७ डलरबाट काम थाल्नुभयो काकाले । त्यसपछि काकीले पनि काम थाल्नुभयो । काम पाउँदा १४ घन्टा सम्म गर्नुभयो काकाले । त्यसमा बाटोको समय थप २ घन्टा । काकीले पनि आफ्नै हिसाबले दुःख गर्नुभयो ।
करिब १० महिना डबल सिफ्ट काम गर्नुभयो काकाले । छोराको कमाइले खानेबस्ने भयो । गाडीमा लाने ल्याउने उसैले गर्यो । जसले गर्दा काका काकीले कमाएको बचत हुँदै गयो । त्यो ठूलो सहयोग भयो । छोराले गर्ने कर्तव्य र धर्म भयो । पहिला ऋण तिरौं, पहिला ऋण सकौं भन्ने नै ध्याउन्न भयो । करिब २ वर्षमा ४८ लाख तिर्नुभयो । काका काकी गएको ३ वर्ष पछि एक मात्र छोरी मनिषाको पनि डिभी पर्यो । उनीहरु हाल सपरिवार अमेरिकामा छन् । कान्छो छोरा विमल र बुहारी अस्मिता क्यानाडामा छन् । उनीहरु पनि अमेरिका ओहोरदोहोर गरिरहन्छन् ।
अमेरिकाको युटा राज्यस्थित साल्ट लेक सिटीमा बस्छ पौडेल परिवार । क्यालिफोर्निया नजिक पर्छ पश्चिमतर्फ । घुम्न भने करिब १० वटा जति राज्य काकाले घुम्नुभयो । काकाकै पहलमा जेठी दिदीलाई करिब १ वर्ष अघि अमेरिका बोलाएर ६ महिना घुमाउनु पनि भयो ।
केवल ४ घन्टा निन्द्रा
‘डबल सिफ्ट काम गरेको बेला ४ घन्टा भन्दा सुत्न पाइनँ, ’काकाले दुःख सुनाउनुभयो, ‘ठीक ६ बजेबाट पहिलो काम शुरु हुन्थ्यो । त्यसका लागि बिहान ४ बजे उठ्नुपर्यो । नुहाईधुवाई नित्य पुजापाठ गर्न समय लाग्थ्यो । फेरि केही बनाएर खानु पनि पर्यो । कामको ब्रेकमा खाने कुरा पनि तयार गर्नुपर्यो । सेकेन्ड सेकेन्डको समयमा चल्नुपर्यो । पहिलो सिफ्ट दिउँसो २ बजे सकिन्थ्यो ।’
सगर्व भतिजलाई दुःख सुनाउनुभयो काकाले, ‘अर्को काम ३ बजे शुरु हुन्थ्यो । राती ११ बजे सकिन्थ्यो । त्यसबेला कोठा नजिक भएकाले पुग्दा साढे ११ हुन्थ्यो । खानपिन सकाएर खाटमा पल्टेपछि एकपटक नित्य काठमाडौं सम्झिँदै सुत्दा १२ बजिहाल्थ्यो ।’
४८ लाखको ऋणले अमेरिकाको दुःख बिसार्यो । कामको दुःख, समयको कडा अनुशासन तथा अन्य किसिमका तनाव भन्दा नेपालमा लागेको ऋणको तनाव निक्कै तगडा थियो । काकाले भन्नुभयो, ‘काममा कठिन हुँदा ऋण सम्झियो भने हलुका महसूस हुन्थ्यो ।’
त्यसबेला नेपाली समुदाय पनि कम थियो । त्यसमाथि काकाहरु बसेको सेभेन लेक सिटी आसपास त झनै कम थियो नेपाली जनसंख्या । फेरि स्मार्ट तरिकाले काम गर्ने विधि पनि त्यसबेला थाहा भएन । धेरे दुःख मात्र गरियो । तरिका पारेर काम गर्न जानिएन । जसले गर्दा पनि थकान बढी हुन्थ्यो ।
जीउ दुःख्ने, सुत्न समस्या हुने गथ्र्यो । काकीले बेला मौकामा तेल लगाइदिनुहुन्थ्यो । तलब आउने बित्तीकै प्राथमिकताको आधारमा ऋण घटाउँदै लानुभयो । ऋण घट्दै जाँदा सन्तुष्टि बढ्दै जान्थ्यो । त्यसबीच, अमेरिकामै गाडी सिक्ने अवसर पनि काकाले छोड्नुभयो । बाध्यता नभएकाले पनि उहाँले सिक्नुभएन । उहाँको मनमा एउटै सोच र योजनाले स्थायी बास गर्यो, ‘ऋण तिर्छु र जीवनको उत्तरार्धमा अरुको हात थाप्नु नपर्ने न्यूनतम रकम बचत गरेर नेपाल फर्कन्छु । र, त्यो सार्वजनिक योजना जस्तै थियो । काकाले कसैलाई सुनाउन बाँकी राख्नुभएको थिएन ।
फ्ल्यासब्याकमा फर्कदा
ओखलढुङ्गाको विगुटार गाउँमा प्रावि शिक्षकको जागिर थियो काकाको । कमाइका अन्य स्रोत थिएनन् । पैतृक सम्पत्ति थिएननै भने सरह । आजभन्दा करिब ३० वर्षअघि विगुटारमा व्यवसाय सम्भावनाविहीन थियो । साँच्चै भन्ने हो भने आज पनि त्यस्तै छ । कृषि कर्मबाट उतिसारो अवस्था बद्लिने परिस्थिति छैन । त्यसैले साहिंलो काकाको काम केटाकेटीहरु पढाउनेमै सीमित थियो । बिदामा इटहरी अनि पछि काठमाडौं आउँदा जग्गा आँट्ने घर बनाउने र बिक्री गर्ने काम गर्नुभयो । त्यो अवस्था भन्दा पनि ऋण गर्न नडराउने आँट थियो । व्यवहार बन्छ कि भनेर गर्ने प्रयत्न थियो ।
ओखलढुङ्गा विगुटारदेखि काठमाडौं फैकासम्म हिसाब गर्दा १३ वटा घर आफैले बनाउनुभएछ । बनाउँदै बिक्री गर्दै । अनि, छोराछोरी पढाउने बिवाह दान गर्ने आदि सबका कारण काकाको थाप्लोमा ऋण थपिदै गयो । पछि, घर मर्मत गर्दा पनि खर्च थपियो । कान्छो छोरा विमलको पढाइ, खानपिन, रहर र इच्छाहरुका लागि पनि थप पैसा खर्च भयो । ऋण थपिदै गर्दा तनाव पनि थपिदै गयो । अवसरहरुबारे सोच्ने क्षमता पनि कम हुँदै गयो । काका कही कतै केही त भैहाल्छ कि भनेर कुर्दै गर्दा बिनोदको डिभी पर्यो । अनि, उसैले बोलाएपछि ऋण तिर्ने अवसर छोड्न नसकेर २०६९ साल पुसमा जागिरबाट राजीनामा गरेर अमेरिका लाग्नुभयो ।
२९ वर्ष शिक्षण
२०४० साल असोज १ गते सेवा प्रवेश गर्नुभएका काका २ वर्ष अन्यत्र काम गरेपछि घर पायक विगुटारमा पढाउन थाल्नुभयो । त्यही पढाउँदै शिक्षक सेवा आयोग पनि पास गर्नुभयो । बीचमा राजीनामा गरेर वनारस गएपनि फर्केर शिक्षणमै जोडिनुभयो ।
अस्थायी सहित २९ वर्ष ५ जागिर खानुभयो । एक नम्बर शिक्षक हुनुहुन्थ्यो । स्कूलमा छोटादेखि लामा अवधिका तालिममा काका सधै पहिलो हुनुहुन्थ्यो । ‘टंक सरको क्लास हामीले के चेक गर्नुपर्छ’ भन्थे प्रशिक्षकहरु । प्रावि इन्चार्ज भएपनि विद्यालयको हेडमाष्टर सरह हुनुहुन्थ्यो । उहाँलाई नसोधी केही निर्णय हुँदैनथ्यो विद्यालयमा । विद्यालय व्यवस्थापन समितिको सदस्य पनि हुनुहुन्थ्यो । जिल्लाको शिक्षक संघको सहसचिव पनि हुनुहुन्थ्यो । राजनीति पनि राम्रैसँग लाग्थ्यो उहाँहरुलाई । बसुन्जेल अघाउँदी स्नेह र सम्मान पाउनुभयो । सुब्बा सरहको जागिरबाट राजीनामा गर्नुभयो ।
................................
२ सय ८६ रुपैयाँ तलबबाट काकाले शिक्षण शुरु गर्नुभएको थियो । त्यसमा पनि ८६ रुपैयाँ भत्ता । पहिलो तलबले दशैंमा एउटा खसी आयो दश धार्नीको । तलुवा भदौरे पुगेर खसी किनेर ल्याएको सम्झना तिख्खरै छ काकालाई । दुई चार पैसा दशैं पेस्की मात्र बाँकी भयो ।
पछि ४ हजार पुगेको तलबले ३ जना छोराछोरी र श्रीमती पाल्ने । पहाडबाट तराई हुुँदै काठमाडौं आउनुभयो । पहिलो जागिरबाट सुरु भएको कुदाइ अहिलेसम्म यत्तिकै छ । अमेरिकामा पनि अझै कुद्दै हुनुहुन्छ । आफ्ना भन्दा अरुको खुसीका लागि अहिले धेरै कुद्नुहुन्छ । खासै आराम लिनुभएको छैन । आनन्दले लाउनुखानु पनि भएको छैन । केही वर्ष यता भने नपुगेर होइन, नचाहेर । अरुका लागि बाँच्नुपर्छ भनेर’ काका सुनाउनुहुन्छ ।
आफ्न्तदेखि गाउँसमाजको लागि पनि आफ्नो क्षमताले भ्याएसम्म काकाले गर्नुभएको छ । अरुका दुःखमा सहयोग गर्दा मन शान्त हुन्छ । काका सुनाउनुहुन्छ–‘मान्छेको जीवनमा लानुभनेकै के छ र ?’ आफ्नो व्यवहार सम्हालिएपछि उहाँको ध्यान अचेल आफन्त र अरुतिर गएको छ । अमेरिकाबाट फोन गर्दा पनि अरुका दुःख र व्यवहारबारे बढी चिन्ता लिने गरेको दाजुभाई तथा आफन्तहरु सुनाउनुहुन्छ ।
पुर्खाहरुको ठाउँमा पुराण
काकाले २०७८ सालमा ओखलढुङ्गामा भागवत पुराण लगाउनुभयो । दिल खोलेर दान दक्षिणा गर्नुभयो । विगतमा गर्न नसकेको धर्मकर्मको रहर पनि पुर्याउनुभयो । पितापुर्खाले जीवन बिताएको, आफू जन्मे हुर्केको, कख चिनेको, साथीभाइ बनाएको तर बिचमा छोडिसक्नुभएको थियो । पुराण लगाउनु अघि सम्म त्यहाँ आफ्नो नाममा एक टुक्रा भूमि थिएन । पुख्र्यौली जग्गाजमिन केही नराखी छोडेको ठाउँमा गएर पुराण लगाउनुपर्दा पौडेल परिवारलाई खल्लो लाग्यो । सोही कारण पुनः जमिन जोड्नुभयो ।
ओखलढुङ्गा जिल्ला सिद्धिचरण नगरपालिका ७ विगुटार पोखरीमा पुरानो घर थियो । आफू जन्मेको भगेरी सिरान । २०२१ सालमा पोखरीमा झरेको याद छ काकालाई । त्यहाँ ठूलो घर थियो, पोखरी थियो । घरसँग जोडिएको ठूलो बगैंचा थियो । स्याउ, नसपाती, आरु, लटरम्म फल्थे । सँगै पोखरी थियो । वरदेखि परसम्म भैंसीहरु डुब्थे आहाल बस्थे, र टाउको मात्रै देखाएर पौडी खेल्थे । गाउँभरिका भैसी त्यहाँ ल्याइथ्यो । एकदमै रमाइलो हुन्थ्यो आहाल बसाउन । त्यही नजिक ठूलो चौतारा थियो । ठूला वरपीपल थिए । विगुटार गाउँको केन्द्र थियो अनि थियो गाउँकै शोभा । काकाका हजुरबुबाहरुले संरक्षण गर्नुभएको थियो त्यो वरपीपल । गाउँका कुरा, पुराना कुरा, आफन्तका कुरा, साथीभाइका कुरा, गाउँले जीवनका कथा व्यथा काकालाई औधी प्यारो लाग्छन् ।
त्यही पुरानो मन्दिर पनि थियो । अनि उक्त मन्दिर संरक्षणको काम अघि बढाउनुभयो । बुबा आमा कृष्ण मनोरथको नाम रहोस् भनेर प्रतिक्षालय निर्माण गराउनुभएको छ । मन्दिरमा नित्य पुजा तथा प्रतिक्षालय संरक्षणको कामको व्यवस्था मिलाउनुभएको छ । पितापुर्खा र जन्मस्थललाई सम्झने काम काकाले गर्नुभएको छ ।
आज आनन्दमा काका
करिब ११ बर्ष अमेरिका बस्दा अहिले भने आराम छ काकालाई । एक ठाउँमा सहज काम गर्दा पनि कमाइ राम्रै हुन्छ काका एक्लैको । काकीको छुट्टै छ । कर्मककाण्ड पनि गर्नुहुन्छ । धर्म संस्कृतिको जगेर्ना पनि हुने, आस्था र विश्वास पनि बाँचिरहने, कमाइ पनि हुने अनि आपतपरेकाहरुको खाँचो पनि टर्ने । दाजुभाइ दिदीबहिनी, आफन्त र अरुसबैलाई सकेसम्म गर्नुभएको छ । दिन पाउँदा खसुी मान्नुहुन्छ । भन्नुहुन्छ, ‘हिसाबकिताब गरेर सहयोग गरेको होइन किनकि मैले ती सहयोग फिर्ता लिन गरेको होइन । आफूले सकेको आफन्त नातानाला र अन्यलाई गरेको हुँ । त्यसमा मलाई आत्मसन्तुष्टि मिल्छ ।’
काका गर्वसाथ भन्नुहुन्छ करिब ३ करोड कमाएँ म एक्लैले । नेपालमै अवकाश नजिक पुग्नुभएको व्यक्ति अमेरिका बसेर त्यति गर्नु ठूलै पौरख हो भन्ने लाग्छ । त्यसैले काका गौरव गर्नुहुन्छ । यसीबीच, क्यानाडा, अष्ट्रेलिया, बंगलादेश, भारत, चीन, पनि घुम्नुभयो । अमेरिका छोडेर अब करिब २ वर्षपछि आउँदा पनि जतन गरी खर्च गर्दा समस्या नपर्ने अवस्था हुने बताउनुहुन्छ काका । गर्वसाथ दुःख सुनाउनुहुन्छ काका ।
हिजोका दुःख सगर्व भतिजलाई सुनाउनुहुन्छ काका । बनारसमा पढ्दा दुःख, काठमाडौंमा तीनधारा संस्कृत छात्रावास पढ्दा दुःख, नुनको भारी बोकेर घर जाँदाका दुःख र पढ्न धेरै नसकेको दुःख सुनाउनुहुन्छ । कष्टहरु बीच जीवनलाई प्रशस्ती पढ्नुभयो काकाले । ११ वर्षमा ओखलढुङ्गा छोड्नुभयो । ५ सुका बोकेर शहर आउनुभयो । जुत्ता चप्पल केही थिएन । रोशी खोलाको बाटो हिड्दै आउनुभयो । बाटोमा ठेस लागेर औला रगताम्य हुन्थ्यो, काँडा बिज्थ्यो । ५ दिन पुरै लाग्यो काठमाडौं आइपुग्नुभयो । बनेपा आएर पहिलो पटक गाडी देख्नुभयो । त्यसपछि पशुपति उमाकुण्डमा झोला बिसाउनुभयो । त्यही बस्ने मेसो मिल्यो । पुजा गर्ने बहानमा बस्ने र खाने व्यवस्था बन्यो, जेठो दाजुको सहयोगमा । एउटा माताजीले पकाएर खान दिनुहुन्थ्यो । काकाको काम बिहान पुजा गर्ने, चारवटै कोठामा धुपबत्ती गर्ने हुन्थ्यो । यसरी जीवन अघि बढाउनुभयो काकाले ।
......................................
र, छुट्टिनेबेला काकाले अमेरिकाबाट सिकेका कुराहरु सुनाउनुभयो । भन्नुहुन्छ, ‘मेरिकाले समयको महत्व बुझायो, कामको महत्व बुझायो, पद होइन काम ठूलो भन्ने सिकायो । नेपालमा काममा छल्न ढाँट्न सकिने तर अमेरिकामा त्यो सम्भव नहुने सिकायो । शिष्टाचार सिकायो, सद्भाव सिकायो, कर्तव्य र अधिकार सिकायो । जही पनि राजनीति गर्न नहुने सिकायो । अनि थुप्रै कुराहरु सिकायो ।’
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com