काठमाडौं । जेठ महिनाको ९ गते शुक्रबार आज अपरा एकादशी । ज्येष्ठ कृष्ण पक्षमा पर्ने अपरा अर्थात् अचला एकादशीको व्रत आज गरिँदै छ । वैदिक सनातन र हिन्दु पञ्चाङ्गअनुसार जेठमास शुक्लपक्षको एघारौँ दिनमा पर्ने तिथिको दिनलाई अपरा एकादशी भनिन्छ । पुराण–अनुसार ज्येष्ठ कृष्ण पक्षको एकादशी अपरा एकादशी हो। अपार कीर्ति, अपार पुण्य, अपार धन–वैभव दिने भएको हुनाले यस एकादशीको नाम पनि अपार एकादशीबाट भ्रमित भएर अपरा एकादशी रहन गएको हो भन्ने किंवदन्ती छ । यसको अर्को नाम अचला एकादशी पनि हो । अपरा एकादशी बारे श्री कृष्णले युधिष्ठिरलाई बताएको वर्णन पुराण एवं धर्मशास्त्रका ग्रन्थमा पाइन्छ । यस दिन भगवान् त्रिविक्रमको पूजा गर्ने गरिन्छ ।
यो एकादशी बुद्ध जयन्तीपछि पर्दछ । जसरी अन्धकारलाई सूर्यको प्रकाशले मेटाउँछ, बोटलाई स्वचालित करौँतीले काटेर ढलाउँछ, इन्धन (दाउरा र काठ)लाई अग्निले जलाउँछ, सिंहको गर्जनले मृग भागेर जान्छ त्यसैगरी यस एकादशीको व्रतका प्रभावले जन्मजन्मान्तरदेखि गर्दै आएका पापहरुजति सबै पानीले फोहोरमैलालाई पखालेर सफा पारेझैँ गरी नष्ट भएर जान्छन् ।
जुन पुण्य कुम्भमेलामा केदारनाथ र बद्रिनाथको दर्शन, माघ महिनामा सूर्य मकर राशीमा प्रवेश गरेपछि प्रयाग र मुक्ति क्षेत्रमा स्नान, शिवरात्रिमा काशी र पशुपतिनाथ क्षेत्रमा रहेर व्रत–आराधना, गया र कागवेणीमा पिण्डदान, सूर्य बृष राशीमा प्रवेश गरेपछि गोदावरी र देवघाटमा स्नान, सूर्य ग्रहणका समयमा कुरूक्षेत्रमा स्नान र दान आदिबाट प्राप्त हुन्छ त्यो सबै पुण्य कवल एक अपरा एकादशीको विधिपूर्वक व्रत गर्दामा मात्र प्राप्त हुन्छ भनेर हाम्रा विभिन्न धार्मिक ग्रन्थहरुमा वर्णन गरिएको छ ।
यो व्रतको प्रभावले ब्रह्महत्या, भूतयोनि, परनिन्दा आदिबाट उत्पन्न भएका सबै पाप नष्ट हुने जनविश्वास छ । युद्धभूमिबाट भाग्ने क्षत्रीय नरकगामी हुन्छन, अपरा एकादशीको व्रत लिनाले ती पनि स्वर्ग पुग्दछन । जो शिष्य गुरूसित शिक्षा ग्रहण गरेर पुनः उनकै निन्दा गर्दछन ती पनि नरकगामी हुन्छन् तर अपरा एकादशीको व्रत गर्नाले ती पनि यस पापबाट मुक्त हुने शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।
जुन फल तीनैवटा पुष्कर तीर्थमा कार्तिक पूर्णिमाका दिन स्नान गर्नाले वा गंगा तटमा पितृहरूलाई पिण्डदान गर्नाले प्राप्त हुन्छ, त्यो फल अपरा एकादशीको व्रत गर्नाले प्राप्त हुने धार्मिक मान्यता समेत छ । मकरको सूर्यमा प्रयागराजको स्नानबाट, शिवरात्रिको व्रत गर्नाले सिंह राशिको बृहस्पतिमा गोमती नदीको स्नानबाट, कुम्भमा केदारनाथको दर्शन वा बद्रीनाथको दर्शन, सूर्यग्रहणमा कुरुक्षेत्रको स्नानबाट, स्वर्णदान गर्नाले जुन फल प्राप्त हुन्छ, त्यही फल अपरा एकादशीको व्रतबाट प्राप्त हुन्छ ।
यो व्रत पापरूपी वृक्षलाई काटने बन्चरो, पापरूपी इन्धनलाई बाल्ने अग्नि, पापरूपी अन्धकारलाई मेटाउने सूर्य, मृगलाई मार्ने सिंह समान छ । अपरा एकादशीको व्रत तथा भगवानको पूजा गर्नाले मनुष्य सबै पापबाट मुक्त भई विष्णु लोकमा पुग्ने भनी ग्रन्थमा उल्लेख गरिएको छ ।
यस एकादशीका व्रतको प्रभावबाट ब्रह्महत्या, भूतप्रेत योनि,परनिन्दा,परस्त्री गमन, झूटो बोल्ने, झूटो प्रचार गर्ने, झूटो शास्त्र बनाउने र पढाउने, झूटो बैद्य बन्ने, झूटो ज्योतिषी बन्ने, झूटो योग्यता पेस गरेर नोकरी गर्ने आदि जस्ता अधर्मी,दुष्ट,अपराधी र पापीहरु पनि मोक्ष भएर जान्छन् भनी विभिन्न पुराणहरुमा व्याख्या गरिएको छ ।
क्षेत्रीयले आफ्नो कर्तव्य भुली युद्धमैदानबाट भागेर जाने, गुरूबाट ज्ञान,शिक्षा,उपदेश, मार्गदर्शन आदि ग्रहण गरेर गुरूकै निन्दा गर्ने शिष्य यी दुवै नरकको भागेदारी बन्छन् भनेर शास्त्रहरुमा भनिएको छ । तर, यस्ता कुकर्मीहरु पनि स्वच्छ मन र भावनाले प्रायश्चित् गर्छन् र अपरा एकादशीको विधिपूर्वक व्रत गर्छन् भने त्यस व्रतको प्रभावबाट तिनका सबै पापहरु पानीले भाँडाहरु पखालेर सफा भएझैँ नष्ट भएर जान्छन् भन्ने धार्मिक विश्वास छ ।
जो व्यक्तिले अपरा एकादशीको विधिपूर्वक व्रत गर्दछ, त्यो व्यक्ति सांसारिक जीवनमा सुखशान्ति, ऐश्वर्य, धन–सम्पदा, उत्तम बुद्धि, आरोग्य, उत्तम परिवारको भागी (अधिकारी) बन्छ । जीवनपर्यन्त हरेक एकादशीको व्रत गर्ने व्यक्ति मरणोपरान्त वैकुण्ठलोक जान पाउने अधिकारी बन्छ भन्ने हिन्दु समाजमा जनविश्वास छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com